• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

धवलागिरि क्याम्पसमा शैक्षिक बहस

बागलुङ, ८ माघ

धवलागिरि बहुमुखी क्याम्पसको ६३औँ वार्षिकोत्सवका अवसरमा ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, सम्भावना र चुनौती’ विषयक शैक्षिक बहस कार्यक्रम सम्पन्न भएको छ । बधुबार आयोजित बहसमा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला र क्याम्पसका उपप्राध्यापक विप्लव शर्माले सम्वाद गरेका थिए । बहसमा भाग लिँदै प्राडा कोइरालाले शिक्षकले पढाउने तरिका र विद्यार्थीले पढ्ने तरिकामा परिवर्तनमा ल्याउनुपर्नेमा जोड दिए ।

शिक्षामा अनुसन्धान, नवप्रवद्र्ध र प्रसारको आवश्यकता रहेको उनले बताए । “नेपालको शिक्षामा नीतिभन्दा नियतमा समस्या छ”, प्राडा कोइरालाले भने, “सीपमूलक र व्यावहारिक शिक्षालाई बढावा दिऔँ, विद्यार्थीहरुलाई रोजगारी र अवसरसँग जोडौँ ।” वैदेशिक रोजगारीमा गएका नेपालीबाट सीप र पूँजी भित्राउनुपर्नेमा उनले जोड दिए ।” शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्ने प्राडा कोइरालाले बताए ।

बहसमा विद्यार्थीहरु अश्मी केसी, निशु रायमाझी, बन्दना गैरे, निकेश खड्का, सविना परियारलगायतले जिज्ञासा र प्रश्न राखेका थिए । बहस सत्रमा शिक्षक र पत्रकारलेसमेत भाग लिएका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । शैक्षिक गुणस्तर, पहुँच र सहभागिता, अनुसन्धान र नवप्रवद्र्धन, संस्थागत संरचना र मौलिक पहिचानसँग जोडेर नेपालको उच्च शिक्षाको बहस गर्नुपर्नेमा जोड दिए ।

शैक्षिक बेरोजगारी, बौद्धिक प्रतिभाको पलायन, राजनीतिक तरलता, वित्तीय समस्या, डिजिटल शिक्षा र आयतीन पाठ्यक्रम उच्च शिक्षाका चुनौतीका रुपमा रहेको उनले कार्यपत्रमा औँल्याएका छन् । उच्च शिक्षाको गुणस्तर सुधारका लागि लगानी वृद्धि, प्रकृयागत र व्यवस्थापकीय सुधार, उपलब्धि, शैक्षिक संस्थाको क्षमता अभिवृद्धि, शिक्षकको जिम्मेवारी र भूमिका थप्नुपर्ने प्राडा थापाले उल्लेख गरेका छन् । बहस कार्यक्रममाथि गोविन्दराज गौतमले टिप्पणी राखेका थिए ।

नेपालको उच्च शिक्षामा देखिएका समस्या र चुनौतीको पहिचान गरी शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवालाहरुको प्रतिबद्धतासहित समस्या समाधानका उपायहरुको खोजी गर्ने उद्देश्यले शैक्षिक बहसको आयोजना गरिएको कार्यक्रम संयोजक बिरोश क्षेत्रीले बताए । क्याम्पस प्रमुख सहप्राध्यापक डा सुदर्शन सिलवालको स्वागत र स्ववियूका कोषाध्यक्ष विशाल थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बहस कार्यक्रममा क्याम्पसबाहेक अन्य विभिन्न विद्यालयका विद्यार्थी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।