• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

कास्कीका तीन क्षेत्रबाट ४९ जना उम्मेदवार चुनावी मैदानमा

पोेखरा,७ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रुपमा मनोनयनदर्ता भएको छ । तीन निर्वाचन क्षेत्रबाट ४८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की–३ मा १५ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङले मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका तीर्थ गुरुङ र नेकपा माओवादीबाट कुशल खड्का र श्रम संस्कति पार्टीबाट हितकाजी गुरुङले उम्मेदारी दिनुभएको हो ।

कास्की–३ मा कसैको पनि स्वतन्त्र उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकारी राजन खनालले जानकारी दिनुभयो । कास्की–१ मा १७ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट तिलकबहादुर रानाभाट, नेकपा (एमाले)बाट वैनबहादुर क्षेत्री अधिकारी, नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेलले उम्मेदवारी दिनुभएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापा, नेपाल मानवता पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुमार परियार, उज्यालो नेपाल पार्टीका मनिष द्धा, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपाल पार्टीका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, श्रम संस्कृति पार्टीका विलबहादुर तामाङ लामा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मान थापा, जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीका हर्कबहादुर थापाले मनोनयन दर्ता गर्नुभएको हो । कास्की–१ बाट कृष्णबहादुर राउतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

कास्की–२ मा १७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेकपा (एमाले)बाट रश्मी आचार्य, नेपाल कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेशनबाट ओलबहादुर गुरुङ, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङले मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

यस्तै नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेकपा माओवादीबाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ कास्की–२ बाट उम्मेदवार बन्नुभएको छ । सो क्षेत्रबाट वसन्तराज घिमिरे, विष्णप्रसाद तिवारी, रामचन्द्र आचार्य, निर्दोष विक्रम पौडेल र निरञ्जन कोइरालाले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको सूचना अधिकारी गिरीले बताउनुभयो ।