आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आइतबार बागलुङ क्षेत्र नम्वर १ अन्र्तगत सर्वदलीय बैठक सम्पन्न भएको हो ।
बैठकमा भोलि माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाहरूलाई फरक फरक समय निर्धारण गरेको छ। जसको लागि विहान १० बजे देखि मनोनयन पत्र बुझाउन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवारको मनोनयन पत्र तथा सोसँग संलग्न गर्नुपर्ने कागजातको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट उम्मेदवारलाई उपलब्ध गराइने भएको छ ।
बैठकमा दलका प्रतिनिधिले निर्वाचन आयोगबाट जारी भएका निर्देशन, आचारसहिंता र निर्वाचनसँग सम्बन्धित प्रचलित ऐन कानूनको पूर्ण पालना गर्ने गराउने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षानिकाय, पत्रकारसँगै निर्वाचन अधिकृतबीच निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको थियो।
जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०८२ का बारेमा जानकारी दिदैँ कानुन विपरीतका कामकारबाही गरेको पाइए त्यस्तो गर्नेलाई दण्डसजाय गर्ने बताउनुभयो । त्यस्तै निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दलहरूले आचारसंहिताको पालना गर्दा स्वयंम उनीहरूलाई नै फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रम सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने छ ।
बागलुङ क्षेत्र नं १ को लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङ क्षेत्र नं १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिका पर्दछन् भने ४ पालिकाका, ३७ वटा वडा, ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहेका छन् ।