• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

बागलुङ, ५ माघ

माघे सङ्क्रान्ति पर्वमा बागलुङको कुश्मीसेरामा प्रस्तुति दिनुभएकी गायिका रचना रिमाल भोलिपल्ट नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा पुगिन् । त्यसलगत्तै शनिबार उनले नुवाकोटको खेलकुद, साँस्कृतिक तथा पर्यटन महोत्सवमा साङ्गीतिक प्रस्तुति दिइन् । पुस २२ गते बागलुङ महोत्सवमा प्रस्तुति दिएकी रिमाल त्यसयता लगातार व्यस्त छिन् । यसबीचमा उनीले गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, दाङको घोराही महोत्सवलगायत कैँयन मेला–महोत्सवमा प्रस्तुति दिइसकेकी छिन् ।

यही माघ १० गते शनिबारसम्म उनको साङ्गीतिक यात्राको तालिका तय भइसकेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगर, सोमबार कैलालीको टीकापूर महोत्सव, मङ्लबार पर्साको माघी–ल्होछार मेला, बुधबार गैँडाकोट महोत्सव, बिहीबार बर्दियाको बाँसगढी महोत्सव, शुक्रबार बर्दियाको जयनगर र शनिबार नुवाकोट महोत्सवमा रिमालले प्रस्तुति दिनेछिन् । माघ महिनाभर देशका विभिन्न ठाउँमा आयोजित मेला–महोत्सवमा आफू व्यस्त रहने उनले बताइन् ।

गायक दुर्गेश थापालाई पनि यतिबेला मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिका दिन मोरङको बेलबारी महोत्सवमा साङ्गीतिक प्रस्तुति दिएका थापाले माघ ११ गतेसम्मको कार्यक्रम तय भइसकेको बताए । यसबीचमा उनी काठमाडौँ, अर्घखाँची, पोखरा, दमौली, सिक्किम, टीकापुर, बाँसगढी, देवचुली हुँदै सुर्खेतसम्मका साङ्गीतिक कार्यक्रममा पुग्दैछन् । “पुस महिना पनि पुरै व्यस्त रहे, माघमा पनि धेरै ठाउँबाट माग आइरहेको छ”, थापाले भने, “यो बेला देशभर मेला–महोत्सव हुने भएकाले कलाकारको व्यस्त रहने समय हो यो ।”

गत वर्ष पनि यही याममा थापाको व्यस्तता बढेको थियो । त्योबेला सार्वजनिक भएको गीत ‘दुश्मन हेरेको हेरै…’ले चर्चा पाएपछि मेला–महोत्सवमा उनको माग बढेको थियो । गत वर्ष फागुन महिनामा मात्र थापाले ३२ ठाउँमा साङ्गीतिक प्रस्तुति दिएका थिए । कतिपय ठाउँका कार्यक्रममा माग आएपनि व्यवस्तताका कारण समय दिन नभ्याएको उनको भनाइ छ । थापा केही महिनाअघि अमेरिकाको एक महिना लामो साङ्गीतिक यात्रा सकेर फर्केका थिए ।

देशविदेशको साङ्गीतिक यात्रासँगै नयाँ गीत ‘नाच नाच भाइ नाच…’ दर्शक/स्रोतामाझ ल्याउने तयारीमा थापा छन् । यही माघ १० गते आफ्नो र छोरा दक्षितको जन्मदिन पारेर गीत सार्वजनिक गर्ने उनले सुनाए । “दुश्मन हेरेको हेरै…’ गीतको सफलताले मलाई पनि थप उचाइ दियो, दर्शक÷स्रोताको साथ र माया पाइरहेको छु”, थापाले भने, “यो वर्ष मेरा लागि धेरै महत्वपूर्ण रह्यो, साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न पाएँ ।”

दुई वर्ष चलचित्र निर्देशन र अभिनयमा व्यस्त रहेका गायक तथा अभिनेता प्रकाश सपुत पनि यसपालि साङ्गीतिक मञ्चमा फर्किए । ‘प्रकाश सपुत : मेला यात्रा’का क्रममा उनी देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । माघ लागेपछि पनि उनको व्यवस्तता उस्तै छ । माघे सङ्क्रान्तिको दिनमा अर्घाखाँची महोत्सव र भोलिपल्ट नवलपरासीको देवचुलीमा प्रस्तुति दिए । शनिबार पोखरा महोत्सवमा प्रस्तुति दिएपछि सपुत आइतबार स्याङ्जाको चापाकोट पुगे । त्यसपछि कञ्चनपुरको महेन्द्रनगर, बर्दियाको राजापुर, बाँसगढी, कैलालीको टीकापुर, दाङको लालमिटया, सिन्धुलीलगायतका जिल्लामा कार्यक्रम तय भइसकेको सपुतले बताए ।

मनोरञ्जन, सेवा र सामाजिक सन्देशसहित एनसेल फाउण्डेशनसँगको सहकार्यमा ‘प्रकाश सपुत : मेला यात्रा–२०८२’ आयोजना गरिएको सपुतले बताए । हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवबाट आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा मात्र टेवा पुगेको छैन कलाकारहरुको आर्थिक उपार्जनको स्रोतसमेत बनेको छ । चल्तीका कलाकारहरु राम्रो पारिश्रमिक लिएर मेला–महोत्सवमा पुग्ने गरेका छन् ।

पछिल्लो समय देशविदेशमा हुने साङ्गीतिक कार्यक्रम र युट्युबबाट कलाकारले कमाइ गर्छन् । कुनै समय थियो चलेका गीतको क्यासेट लाखौँ बिक्री हुन्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । अहिले जमाना फेरिएको छ । अडियो क्यासेट, सिडी, सिरआरबिटी, हुँदै सङ्गीत व्यवसाय युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । अडियो क्यासेट त इतिहास भइसक्यो, सिडीको चलन नगन्य छ । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।