बागलुङ, ५ माघ
उम्मेदवार चयनमा पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङमा असन्तुष्टि चुलिएको छ । रास्वपाले बागलुङ-१ मा सुशील खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्णयको विरुद्ध उम्मेदवारका अर्का आकांक्षी राजेन्द्र शर्माले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जिल्लाका नेताकार्यकर्ता र मतदाताको चाहाना विपरीत पार्टी केन्द्रले उम्मेदवार चयनमा मनोमानी गरेको उनको आरोप छ । रास्वपाका जिल्ला सदस्य एवं जैमिनी नगरपालिकाका सभापति रहेका शर्मा पछिल्लो समय पार्टी संगठन विस्तारमा जिल्लाभर क्रियाशील रहँदै आएका छन् ।
पार्टी निर्माणदेखि जनतासँग प्रत्यक्ष जोडिएर थुप्रै काम गरेकाले आफूलाई मतदाताले साथ दिने शर्माले बताए । उम्मेदवारका अर्का आकांक्षी खिमानन्द कँडेलले पनि सीमित नेताहरूको स्वार्थमा बाहिरबाट पठाइएका उम्मेदवार आफूहरूले अस्वीकार गर्ने बताएका छन् ।
सामाजिक संजालमा पोष्ट लेख्दै उनले उम्मेदवार चयनमा पार्टी केन्द्रले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका छन् । रास्वपाले बागलुङ-१ मा सुशील खड्का र २ मा सोम शर्मालाई उमेदवार बनाएको छ ।