पोखरा, ३ माघ
पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो ।
घोषणा भएको वषौँ बित्दासमेत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेको हो । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन हुन नसक्दा अस्पताल निर्माणको योजना कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । प्रदेश गौरवको आयोजनाका रुपमा घोषणा गरिएको विशिष्टीकृत अस्पताल निर्माणका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएपनि कुनै सुनुवाई नभएको उहाँको भनाइ छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयकातर्फ गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रदेश सरकारलाई जग्गा उपलब्ध गराइदिन माग गरिएको थियो । “पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको दुई सय रोपनी जग्गा अस्पताल निर्माणका लागि माग गरिएको हो, तर अहिलेसम्म जग्गा प्राप्तिको कुनै टुङ्गो लाग्न सकेको छैन” स्वास्थ्यमन्त्री पाठकले भन्नुभयो, “जग्गा व्यवस्थापनका लागि हाम्रो तर्फबाट प्रयास जारी छ ।”
प्रदेश सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समेट्दै आएपनि जग्गाकै अभावमा काम अघि बढ्न नसेकेको उहाँले बताउनुभयो । सङ्घ सरकारबाट जग्गा व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता आउने गरेपनि ठोस पहल हुन नसकेको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले पोखरामा प्रदेश सरकारको आफ्नै विशिष्टीकृत अस्पताल आवश्यक रहेको बताउनुभयो ।
“सङ्घ सरकारअन्तर्गत रहेको गण्डकी अस्पतालमा रहेको बिरामीको चाप कम गर्न पनि पोखरामा अर्को विशिष्टीकृत अस्पताल चाहिन्छ, त्यसलाई प्रदेशको रिफरल अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विशिष्टीकृत अस्पताल भएपछि जटिल रोगको उपचारका लागि काठमाडौँ जानुपर्ने सर्वसाधारणको बाध्यता पनि कम हुँदै जान्छ ।” महाशाखा प्रमुख केसीले जग्गा अभावकै कारण अस्पताल स्थापनाको योजना अधुरै रहेको बताउनुभयो । जग्गा व्यवस्थापन हुन नसकेमा लेखनाथमा रहेको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताललाई दीर्घकालीन रुपमा विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ ।
प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पतालको पनि खाँचो रहको उहाँको भनाइ छ । प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाको पनि लक्ष्य लिएको छ । उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी सात आना जग्गा प्राप्तिका लागिसमेत पहल गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको प्रबन्धका लागि सङ्घ सरकारले सहयोग गर्नुपर्ने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।
स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ । “नागरिकलाई सर्वसलुभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि नीतिगत, संस्थागत र संरचनागत सुधारमा जोड दिइएको छ”, स्वास्थ्यमन्त्री पाठकले भन्नुभयो ।