• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बागलुङ, २ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यालयको शुभारम्भ गर्नुभयो । उहाँले निर्वाचनलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज, सञ्जार जगतलगायत सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।

यही माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्तादेखि निर्वाचन सम्बन्धी सम्पूर्ण काम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत हुने मुुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालनामा सबै पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । मनोनयन दर्ताका क्रममा उम्मेदवारले सम्पत्ति विवरणलगायतका विषयको स्वघोषणा गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले कृष्णप्रसाद आचार्यले निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरण सम्पन्न गर्नु सरोकार भएका सबै पक्षको दायित्व रहेको बताउनुभयो । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई चुस्त र प्रभावकारी बनाइने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन तयारीका कामले थप तीव्रता पाउने प्रजिअ आचार्यले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठसहित जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीलगायतका सहभागिता रहेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को बुर्तिबाङमा पनि शुक्रबार निर्वाचनको अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।