• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

जैमिनीमा माघे सङ्क्रान्तिको रौनक

बागलुङ, १ माघ

माघे सङ्क्रान्ति पर्वका अवसरमा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरामा माघे सङ्क्रान्ति पर्व एवं सहारा खेलकुद महोत्सव जारी छ । महोत्सवस्थलमा बिहीबार माघे सङ्क्रान्ति पर्वको रौनक छायो । अन्य दिनको तुलनामा दर्शकको भीडभाड देखिन्थ्यो । मेलामा रमाउनेदेखि किनमेल गर्नेहरुको चहलपहल थियो । मेलामा स्थानीय कृषि उपजको प्रदर्शनी तथा बिक्रीकक्ष राखिएको छ । रमाइलो मेलाले बालबालिकालाई आकर्षित गरेको छ ।

स्थानीय संस्कृति झल्काउने गीत तथा नृत्य प्रस्तुत गरियो । स्थानीय कलाकारले मौलिक ठाडो भाका प्रस्तुत गरेका थिए । गायिका रचना रिमाल, गायक कृष्ण अखेलीलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिए । महोत्सवको मूल समारोहलाई गण्डकी प्रदेशसभाका सदस्य लिलबहादुर उद्घाटन गरेका थिए । सहारा क्लबको आयोजनमा मङ्गलबारदेखि महोत्सव सुरु भएको थियो । महोत्सवमा विविध खेलकदु तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सरेश सुनारले बताए ।

महोत्सवमा वडास्तरीय खुल्ला भलिबल, खुल्ला महिला भलिबल, वडास्तरीय पुरुष भेट्रान्स भलिबल, पुरुष डबल सी लेबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । यस्तै जैमिनी डान्स आइडल, खुल्ला सालैजो, कृषि उपज तथा पशु प्रदर्शनी, झाँकी प्रदर्शनी तथा विविध मैत्रीपूर्ण खेलकुद प्रतियोगिता राखिएको क्लबले जनाएको छ । परम्परादेखि चल्दै माघे सङ्क्रान्ति मेलालाई पछिल्लो समय सहारा क्लबले निरन्तरा दिँदै आएको छ । माघे सङ्क्रान्ति मेलालाई दक्षिण बागलुङको महत्वपूर्ण साँस्कृतिक मेलाका रुपमा लिइन्छ ।