• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

बागलुङमा १२ सय ९८ निर्वाचन प्रहरी खटाइने

बागलुङ, २९ पुस

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाजिल्लामा निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्तीको प्रकृया सुरु भएको छ । बागलुङमा १२ सय ९८ निर्वाचन प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेभित्र दरखास्त माग गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बरेङ, गलकोट र बुर्तिबाङमा दरखास्त बुझाउन सकिने जनाइएको छ ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले निर्वाचन प्रहरीको छनौट र नियुक्ती गर्नेछ ।

प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने जनाइएको छ । माघ ५ देखि १० गतेभित्र छनौट प्रकृया सकिने र १२ गते नतिजा प्रकाशन गर्ने समितिको तयारी छ । माघ १५ गतेदेखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई प्रशिक्षण दिइने भएको छ ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु। ३४ हजार सात सय ७६, खाद्यान्न र पोशाक बापतको रकम, तयारी खर्च रु। आठ सय ४६ र चार दिनको खाजा खर्च रु। १२ सय उपलब्ध गराइने छ ।