पोखरा, २८ पुस
गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’को उपाधि गायनतर्फ रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात पार्नुभएको छ । रुपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार आयोजित प्रतियोगिताको गायनतर्फ फस्ट रनरअप सुशान्त भण्डारी र सेकेण्ड रनअप सविना परियार हुनुभएको छ ।
सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै नृत्यतर्फ क्रिष्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकण्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बुले सान्त्वना स्थान हाँसिल गर्नुभएको हो ।
दुवै विधामा उपाधि विजेताले जनही रु. ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक रुपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिनुभयो । यस्तै फस्ट रनरअपलाई जनही रु. ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेण्ड रनरअपलाई रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । प्रतियोगिताको विभिन्न चरण पार गरेर गायन र नृत्य विधामा पाँच÷पाँच जना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए ।
युवा प्रतिभा पहिचानसँगै साँस्कृतिक जागरणका लागि प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताउनुभयो । गीतकार प्रतिष्ठान, नेपालका अध्यक्ष अनुराग अधिकारीले प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिक÷साँस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा गायक रामभक्त जोजिजू, गायिका ईतु जोजिजू, अनिल ढुङ्गाना, सनम गुरुङलगायतका कलाकारहरूले प्रस्तूति दिएका थिए ।
