बागलुङ, २२ पुस
बागलुङ सेवा समाज, दोहा कतारको १४औँ अधिवेशन यही जनवरी ९ मा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष निराजन गौतमले जानकारी दिनुभयो । अधिवेशनमा बागलुङको मौलिक पञ्चेबाजाको उद्घाटन र प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
समाजले कतार तथा गृह जिल्ला बागलुङमा नियमित रूपमा सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । गत मङ्सिरमा बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज अक्षयकोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा ‘बृहत् रक्तदान’ कार्यक्रम सम्पन्न भएको थियो ।
समाजले एक करोड रुपैयाँको ‘कतार बहुद्देश्यीय अक्षयकोष’समेत स्थापना गरेको छ । कोषमार्फत दैवी प्रकोप उद्धार, सीपमूलक तालिम, पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा सामाजिक काम गर्ने लक्ष्य लिइएको अक्षयकोषका अध्यक्ष सन्तोष पौडेलले बताए ।