बागलुङ, १९ पुस
बागलुङ नगरपालिका–१३ पैँयूपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयले साताव्यापी कार्यक्रमसहित हीरक जयन्ती मनाउने भएको छ । यही पुस २६ गतेदेखि माघ २ गतेसम्म मनाइने हीरक जयन्तीको तयारी तीव्र पारिएको शनिबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
माघ १ गते हुने जयन्तीको मूल समारोहमा राष्ट्रयपति रामचन्द्र पौडेले आउने हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एव विद्यालय व्यवस्थाप समितिका अध्यक्ष डा रामबहादुर केसीले जानकारी दिए । उक्त अवसरमा विद्यार्थी पुनर्मिलन कार्यक्रमसमेत आयोजना गरिएको उनले बताए । पुस २६ र २७ गते सरसफाइ एवं आन्तरिक खेलकुद कार्यक्रम, २८ गते साहित्यिक एवं सदनात्मक हाजिरजवाफ, २९ गते सांस्कृतिक कार्यक्रम र शैक्षिक सामग्री प्रदर्शनी, ३० गते छात्रवृत्ति वितरण, बाली शिविर, माघ १ गते मूल समारोह, स्मारिका विमोचन, विद्यार्थी पुनर्मिलन कार्यक्रम राखिएको छ ।
माघ २ गते बृहत् स्वास्थ्य तथा योग शिविर सञ्चालन गरिने अध्यक्ष डा केसीले जानकारी दिए । विसं २००७ सालमा स्थापना भएको त्रिभुवन मावि जिल्लाकै पुरानो सामुदायिक विद्यालयमध्येमा पर्छ । “राष्ट्रपती पौडेलको त्रिभुवन माविसँगको फरक सम्बन्ध छ, उहाँ २०४६ सालको राजनितिक आन्दोलनका क्रममा बागलुङबाट पैयुँपाटा हुँदै पर्वतको फलेवास पुग्नुभएको थियो अध्यक्ष केसीले भने, “उहाँ सभामुख हुँदा पनि यस विद्यालयमा आउनुभएको थियो ।”
हीरक जयन्तीमा यस विद्यालयमा अध्ययन गरेर देश तथा विदेशमा रहेको विभिन्न विद्यार्थीहरुको जमघट हुने जनाइएको छ । हीरक जयन्तीका अवसरमा सङ्कलित आर्थिक सहयोगबाट आवासीय विद्यालय सञ्चालन गरी गुणस्तरीय प्रविधिमैत्री शिक्षा प्रदान गर्दै स्वरोजगारमुखी आत्मनिर्भर जनशक्ति उत्पादनका लागि कोष स्थापना गरिने जनाइएको छ । यसका लागि विद्यालयले पूर्वविद्यार्थी तथा अभिभावकलाई आयोजक, हीरक जयन्ती संस्थापक र संरक्षक बन्न आग्रह गरेको छ ।
कार्यक्रमबाट झण्डै ६० लाख रुपैयाँ संकलन गर्ने योजना रहेको मूल आयोजक समितिका आर्थिक संयोजक रेशमबहादुर खत्रीले जानकारी दिए । कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जिल्लाकै ऐतिहासिक महत्व बोकेको विद्यालयले यसपटक थप इतिहास रच्ने बताए । उनले बदलिँदो युग सँगै शैक्षिक गतिविधिलाई पनि बदल्नुपर्ने आवश्यक रहेको हुँदा अब विद्यालयमा प्राविधिक धारका कक्षाहरु संचालन गर्ने योजना रहेको सुनाए ।
विद्यालयमा हाल तीन सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन भने प्राविधिक धारतर्फ कृषि विषयको पढाइ भइरहेको छ । विद्यालयमा कम्प्युटर शिक्षाका साथै पुरानो संस्कृति जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालयको स्थापना गरिएको छ । विद्यार्थीहरुलाई फरक संस्कृतसँग जोड्नुका साथै हाम्रो संस्कृतीको संरक्षण गरौँ भन्दै पञ्चेबाचा भजन लगायतका अन्य अतिरिक्त क्रियाकलमपमा पनि जोड्दै आएको प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले हीरक महोत्सव सफल पार्न सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।