पोखरा, १८ पुस
गण्डकी प्रदेशमा आव २०७७÷०७८ यता हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पु¥याउने गरेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीले जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको जीवनरक्षाका लागि हवाई उद्धार प्रभावकारी बनेको बताउनुभयो । प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि–२०८० अनुसार हवाई उद्धार सम्बन्धी सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ ।
“सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारको कार्यक्रम सञ्चालन गरिरहेको छ”, महाशाखा प्रमुख डा केसीले भन्नुभयो, “हवाई उद्धारले जोखिममा रहेका गर्भवती, सुत्केरी र नवशिशुलाई अकालमै मृत्यु हुनबाट जोगाएको छ ।”
१८ घण्टा बढी प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाई भएमा, पाठेघर भन्दा बाहिर बच्चा रहेमा, गर्भमा नै शिशुको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्याधिक शरीर सुन्निएमा, सुत्केरी पश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा हवाई उद्दार गरिँदै आएको छ । स्थानीय स्तरमा उपचार नहुने र तत्काल आकस्मिक व्यवस्थापन हुन नसकी ज्यान जोखिममा पर्ने अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गर्ने गरिएको छ ।