• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

बागलुङका प्रजिअसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बागलुङ, १७ पुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिका-७, खरेहामा ज्येष्ठ नागरिक भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल बागलुङका प्रमुख जिल्ला अधिकारी) कुमानसिँह गुरूङसहित पाँच जनाविरूद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टचार मुद्दा दर्ता गरेको छ ।

भवन निर्माणका नाममा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । गुरूङसहित नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स र कम्पनीका सञ्चालक लालबहादुर मल्लविरुद्ध बिहीबार मुद्दा दायर गरिएको छ।

विशेष अदालत, काठमाडौँमा दायर गरिएको आरोपत्रमा उनीहरूबाट एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ ८६ पैसा असुल उपर गर्न माग दाबी गरिएको छ। काम पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार गर्नुपर्नेमा नगरेको, एकआपसको बदनियतपूर्ण मिलेमतोमा गैरकानूनी लाभ र स्वार्थका लागि खरीद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारले जनाएको छ।

त्यस्तै, निर्माण व्यवसायीलाई उपलब्ध गराएको पेश्की फर्छ्यौट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दाबी गर्ने कार्य नगरी हानी नोक्सानी पु¥याएको अख्तियारको आरोप छ। भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएसँग बागलुङका प्रजिअ गुरूङ निलम्बनमा परेका छन् । उनी नौ महिनाअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा बागलुङ आएका थिए । त्यसअघि गुरूङ गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सचिव थिए ।