• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

लेखनाथ महोत्सवमा दर्शकको भीड

पोखरा, १२ पुस

पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ। देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइसँग पुनर्मिलन हुने अवसर मिलेको छ ।

रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे । यस्तै पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यहीँ भेटे। महोत्सवमा धेरै दर्शकहरूले विद्यालय जीवनका साथी तथा टाढाटाढाका आफन्त भेटेर खुसी साटासाट गरिरहेका छन् ।

दिउँसो दोहोरी प्रस्तुति र साँझ पप कन्सर्टमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिने गरेको छ। यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाटको थलो बनाएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक आत्मीयता बढाउने माध्यम बनेको बताइन्। “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन् ।

महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। साथै, बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढेको छ। विदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यानका संयोजक भरत थापाले जानकारी दिए ।

शनिवारलोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पुजा गुरुङ लगायतको प्रस्तुत रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा आईतबार पशुपति शर्मा, शुष्मा शाहि ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियारर बेलुका सुगम संगिततर्फ सम बस्याल र राजेश वर्देवाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए ।

महोत्सवमा शनिवार ३५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाख बराबरको कारोबार भएको महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीले जानकारी दिए । हालसम्म २ लाख ८५ हजार दर्शकले अवलोकन गरेका छन हालसम्म ९ करोड ३० लाखको कारोबार भएको आयोजकले वताएको छ ।