• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

निलगिरी सहकारीको १८औँ साधारणसभा सम्पन्न

बागलुङ, १२ पुस

निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दिपेन्द्रबहादुर थापाले निलगिरी सहकारी हरेक समुदायको भरोसा, आर्थिक रूपान्तरणको आधार, र सामाजिक एकताको बलियो स्तम्भ भएको बताए ।

उनले गाउँगाउँको अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न यस सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । थापाले सहकारीलाई बचत–ऋणमा मात्र सीमित नराखी उत्पादन, रोजगारी सिर्जना, डिजिटल प्रविधि, र पर्यटनसँग जोडेर विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । संस्थाका पूर्व सल्लाहकार समेत रहेका थापाले विशेषगरी पूँजी परिचालनमा जोखिम व्यवस्थापन गर्दै पनि सहकारी क्षेत्रले विकास गरेको बताए । उनले हरेक शेयर सदस्यले आफ्नो सहकारीको कारोबारमा ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्माले जिल्लामा जुन समस्या झेलेका एक दुई सहकारीबाहेक अन्य सहकारीमा कुनै समस्या नरहेको बताए ।  अन्य जिल्लाको तुलनामा बागलुङ सहकारी क्षेत्रको विकासमा अब्बल बन्दै गएको दाबी गरे ।

२०६५ सालमा ३० जना शेयर सदस्यबाट आफ्नो सेवा सुरु गरेको निलगिरी सहकारीमा हाल १ हजार ३ सय बढि शेयर सदस्य रहेका छन । सहकारीले बलेवा क्षेत्रलाई लक्षित गरी बागलुङ नगरपालिका–१३ पैयुँपाटाबाट आफ्नो सेवा केन्द्र संचालन गरेको छ । जिविकोपर्जन र आर्थिक समृद्धिका लागि निलगिरी सहकारी भन्ने अभियानका साथ संचालन गरिएको सहकारीमा झण्डै ४ करोडको शेयर पुँजी रहेको संस्थाका अध्यक्ष मिनबहादुर केसीले जानकारी दिए । संस्थाले आ।व। २०८१।०८२ मा १ अरब ४९ करोड ४६ लाख ४८ हजार ८८१ बराबरको कारोबार गरेको छ ।

साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सहकारीले सामाजिक सुरक्षा रकम प्रदान गर्दै आएको छ । शेयर सदस्य वा आफन्तको मृत्युमा होस वा जन्मोत्सवमा सुत्केरी स्याहार स्वरुप सामाजिक सुरक्षा बापत रकम प्रदान गर्दै आएको संस्थाका सचिव प्रकाश पौडेलले जानकारी दिए ।

साधारण सभामा सचिव पौडेलले प्रगती प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक परशुराम सुवेदीको लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले तिनवटै प्रतिवेदन सर्वसम्मत पास गरेको छ । सहकारीका अध्यक्ष मिनबहादुर केसीको अध्यक्षता सदस्य हायश्वर सुवेदीको स्वागत, सचिव प्रकाश पौडेल र सहसचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।