• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

आठौँ बागलुङ महोत्सव शुक्रबारदेखि, तयारी अन्तिममा

बागलुङ, ९ पुस

आठौँ संस्करणको बागलुङ महोत्सव आगामी शुक्रबारदेखि बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा सुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

शुक्रबार बिहान ११ बजे धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणबाट सांस्कृतिक झाँकीसहितको बहृत् ¥याली महोत्सवस्थलमा पुगी उद्घाटन समारोहमा परिणत हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । उनका अनुसार झाँकी प्रदर्शनीमा डेढसय भन्दा बढी सङ्घसंस्थाको प्रतिनिधित्व रहनेछ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने जनाइएको छ ।

यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका दुई सय व्यावसायिक स्टल बुकिङ भइसकेको अध्यक्ष शाक्यले जानकारी दिए । महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवर्द्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने अध्यक्ष शाक्यले बताए । अंग्रेजी नयाँ वर्ष पारेर विशेष सांगीतिक कार्यक्रम पनि तय गरिएको जनाइएको छ ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रू. दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने उनले जानकारी दिए । यस्तै टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने उनको भनाइ छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रू. दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव सफल पार्न ४५ वटा उपसिमिति गठन गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।

महोत्सवमा रू. एक सयको प्रेवश टिकट तोकिएको छ । विद्यार्थीलाई रू. ७० को टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालयले सामूहिक रूपमा विद्यार्थीलाई महोत्सव अवलोकनमा लैँजादा पनि प्रवेश शुल्क नलाग्ने जनाइएको छ । महोत्सवमा गायक विष्णु खत्री, प्रकाश सपुत, प्रकाश दुतराज, पशुपति अधिकारी, गायिका समीक्षा अधिकारीलगायत कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक ब्याण्डसहित डिजेको विशेष प्रस्तुती रहने जनाइएको छ । महोत्सवलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था चुस्त पारिएको अध्यक्ष शाक्यले बताए ।