• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

गण्डकीका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

पोखरा, ५ पुस

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) स्वीकृत भएको छ । ‘इआइए’ स्वीकत भएसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रकृया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखी ‘इआइए’को जिम्मा पाएको थियो ।

‘इआइए’को प्रकृया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ हुँदै आएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन वन कार्यालयसँगको समन्वयमा औद्योगिक क्षेत्र निर्माण स्थलमा काट्नुपर्ने रुखको गणना कार्य भइरहेको बताउनुभयो ।

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्छ । “औद्योगिक क्षेत्र निर्माण गर्दा काट्नु पर्ने रुखको गणनासहित क्षेत्रफल एकिन गरेर सङ्घको वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पठाउँदैछौँ”, उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार दिने निर्णय हुन्छ ।” सङ्घ सरकारले गण्डकी प्रदेश सरकारलाई जग्गा भोगाधिकार दिने निर्णय गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ‘इआइए’को प्रक्रिया पूरा धेरै समय लागेको उहाँको भनाइ छ । जग्गा प्राप्तिका लागि प्रदेश सरकारले यसअघि नै वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाएको थियो । वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका जग्गा उपलब्ध गराउने निर्णय गर्ने महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका दुई औद्योगिक क्षेत्र निर्माणको प्रकृयालाई अगाडि बढाएको हो । प्रदेश सरकारले पुँडीटारमा रु. ५४ करोड र लोकाहाखोलामा रु. ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच तथा एकिन भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाईमा प्रदेश सरकार छ ।

जग्गाको भोगाधिकार आएपछि पुँडीटारमा ४५ सय रोपनी र लोकाहाखोलामा एक सय ४१ विगाहामा औद्यागिक क्षेत्र निर्माण हुनेछ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्र नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेको ठाउँ रहेपनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ ।