• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङ महोत्सवमा हेलिकोप्टरमार्फत पर्यटकीय स्थलहरूको दृश्यावलोकन गराइने

बागलुङ, पौष २

बागलुङ महोत्सवको अवसरमा हेलिकोप्टरमार्फत पर्यटकीय तथा धार्मिक स्थलहरूको दृश्यावलोकन गराइने भएको छ।

यही पौष ११ गतेदेखि सुरु हुने आठौँ बागलुङ महोत्सवमा धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोट, भकुण्डे, भैरवस्थान तथा पर्वतको कुश्मा लगायतका स्थानमा हेलि टुरको व्यवस्था गरिएको हो।

गण्डकी प्रदेशअन्तर्गत विशेषगरी धौलागिरी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र तथा धार्मिक सम्पदाको प्रचार–प्रसार र प्रवर्द्धनका लागि हेलिकोप्टरमार्फत दृश्यावलोकनको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले बताउनुभयो।

आफ्ना अभिभावक माता–पितालाई हवाई यात्राको अनुभव गराउन चाहने तथा विशेष धार्मिक स्थलहरूमा लैजान चाहनेहरूका लागि यो राम्रो अवसर भएको कँडेलले बताउनुभयो।

बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष ११ गतेदेखि बाङ्गेचौर खेल मैदानमा महोत्सव सञ्चालन हुँदैछ। व्यापार, कृषि, उद्योग तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्दै आएको छ।

महोत्सवलाई थप आकर्षक बनाउन तथा हेलिकोप्टरमार्फत महोत्सव स्थल र जिल्लाका पर्यटकीय गन्तव्यहरूको दृश्यावलोकन गराउन यस कार्यक्रमलाई मुख्य आकर्षणका रूपमा राखिएको सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो।

महोत्सवको अवसरमा न्यूनतम ७ मिनेटको हेलि टुरका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ र अधिकतम १२ मिनेटको लागि १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको व्यवसायी अनोद श्रेष्ठले जानकारी दिनुभयो।

त्यस्तै, महोत्सवकै अवसरमा म्याग्दीको नर्थ एबीसी  जान चाहनेहरूका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँमा दृश्यावलोकन गराइने र त्यसका लागि टिकट बुकिङ खुला गरिएको हेलि संयोजक खगेश्वर पौडेलले जानकारी दिनुभयो।

टिकट बुकिङ गर्न इच्छुकले ९८५७६२१५८३ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।