बागलुङ, २७ मङ्सिर
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएकी छिन् । प्रेस सेन्टर नेपाल, बागलुङले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प नभएको उल्लेख गरिन् ।
“फागुन २१ मै निर्वाचन हुनुपर्छ, संविधानलाई सही ट्रयाकमा ल्याउन र व्यवस्थाको रक्षाका लागि निर्वाचनको विकल्प छैन”, उनले भनिन्, “जेन्जी आन्दोलनपछि सरकार निर्माणका क्रममा संविधान केही मिचिएकाले त्यसलाई सच्चाउन पनि निर्वाचन अपरिहार्य छ ।” उनले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका आधारमा बनेको धारणा राखिन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेकी नेता भुसालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताइन् । उनले ‘जेनजी’ आन्दोलनको माग अनुसार पार्टीमा पनि युवा सहभागितालाई बढाउने उल्लेख गरिन् । ‘जेनजी’ आन्दोलनमा उठेका माग आफूहरुले विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले ती मागको सम्बोधन हुनुपर्ने विचार राखिन् ।
नेपाली कम्युनिष्ट पार्टीलाई देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरिने उनको भनाइ छ । “अहिले भएको एकताले मात्र पुग्दैन, अन्य वामपन्थी दल र घटकहरुबीच पनि एकता गर्दै देशमा एउटा मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउनुपर्छ”, उनले भनिन्, “परिवर्तनको रक्षासँगै राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्न विभिन्न कम्युनिष्ट घटकहरुबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो ।” नेता भुसालले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले एक्लै प्रतिस्पर्धामा उत्रने बताइन् ।