बाल प्रतिभा पहिचानका लागि महोत्सव
पोखरा, २६ पोखरा
पोखरामा बाल प्रतिभा पहिचान महोत्सव चलिरहेको छ । पोखरा प्रदर्शनी केन्द्रमा बुधबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीले विभिन्न विधामा आफ्नो कला र प्रतिभा प्रस्तुत गरिरहेका छन् ।
सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट सामग्री निर्माणलगायतका प्रतियोगिता राखिएको आयोजक नेसनल प्याब्सन, कास्कीले जनाएको छ । महोत्सव अवलोकनका लागि प्रदर्शनी केन्द्रमा विद्यार्थी, अभिभावकलगायत दर्शकको भीड लागेको नेसनल प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव शुक्रबारसम्म चल्नेछ । विद्यार्थीलाई परालबाट गुन्द्री बुन्ने, बाँसको चोयाबाट विभिन्न सामग्री बनाउने, दुनाटपरी बनाउनेलगायतका परम्परागत सीप सिकाउन पनि महोत्सव सहयोगी बनेको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रतियोगितामा नेसनल प्याब्सन, कास्कीमा आबद्ध ४३ विद्यालयका एक हजार पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
