बागलुङ, २६ मङ्सिर
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी, बागलुङको एकता सन्देश सभा शनिबार सदरमुकाम बागलुङ बजारमा आयोजना हुने भएको छ । पार्टी पङ्क्ति र जनस्तरमा एकताको सन्देश प्रवाहका लागि सभा गर्न लागिएको नेकपा बागलुङले जनाएको छ ।
एकता सन्देश सभालाई उक्त पार्टीका नेता पम्फा भुषाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रममा जनवादी कलाकार झङ्कार बुढालगायत सामाना परिवारका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ ।
एकता सन्देश सभामा जिल्लाभरका नेता, कार्यकर्ताको सहभागिता रहने नेकपा, बागलुङले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रदेश र जिल्लास्तरमा अहिले एकता सन्देश सभाको आयोजना गरिरहेको छ ।
