• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

कांग्रेसबाट बागलुङ १ मा दाजुभाइ उम्मेदवार सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट एकाघरका दाजुभाइलाई उम्मेदवार सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फ सिफारिस गरेका १० उम्मेदवारमध्ये जैमिनी नगरपालिका- १० राङखानीका भीम श्रीस र दलबहादुर श्रीस दाजुभाइ हुन् । भीम कांग्रेस महासमिति सदस्य हुन् भने उनका भाइ दलबहादुर प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति हुन् । भीम त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियू सभापतिसमेत हुन् ।

क्षेत्रीय कार्यसमिति बैठकले समानुपातिकतर्फ ७ सहित १७ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कँडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कँडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरिएको हो ।

समानुपातिकतर्फ पदम बहादुर पुन, पार्वती आचार्य, डा राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) को नाम सिफारिस गरिएको छ ।