• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

मेयर कप फुटबलको उपाधिका लागि बागलुङ र पैँयू भिड्ने

बागलुङ, १८ मङ्सिर

बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका (निलो) र पर्वतको पैयूँ गाउँपालिका भिड्ने भएका छन् ।

बुधबार भएको सेमिफाइनल खेलमा उदयपुरको कटारी नगरपालिकालाई पराजित गर्दै बागलुङ नगरपालिका (निलो) र म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै पर्वतको पैँयू गाउँपालिका फाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा बागलुङले कटारीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा टाइब्रेकरमा ४–२ गोल अन्तरले बेनी नगरपालिकालाई पराजित गर्दै पैँयू गाउँपालिकाले फाइनलको यात्रा तय गरेको हो । बागलुङ नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल बिहीबार बाङ्गेचौर खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेता टिमलाई मेडल र ट्रफीसहित रु. तीन लाख ३३ हजार तीन सय ३३, उपविजेतालाई रु. दुई लाख दुई हजार दुई सय २२ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई रु. दस हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक सुदीप गौतमले जानकारी दिए ।