बागलुङ, १४ मङ्सिर
बागलुङ नगरपालिका, नगर खेलकद विकास समितिको आयोजनामा आइतबारदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । बाङ्गेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । उनले खेलकुदको विकासले नगरको गौरव बढाउने बताए । नगर प्रमुख श्रेष्ठले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले लगानी वृद्धि गर्दै आएको जनाए ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, बा.न.पा.–१ का वडाध्यक्ष जयबहादुर केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा बागलुङ नगरपालिकाका दुई टिमसहित १० टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेलले जानकारी दिए ।
खेलमा उदयपुरको कटारी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, बागलुङको जैमिनी, गलकोट, पर्वतको जलजला र पैँयु गाउँपालिकासहित विभागीय टोली नेपाली सेनाको कालिजंग गण घोडाबाँधे र गण्डकी प्रदेश प्रहरीले सहभागी रहेको छ । प्रतियोगिताको विजेता टिमलाई मेडल र ट्रफीसहित रु। तीन लाख ३३ हजार तीन सय ३३, उपविजेतालाई रु. दुई लाख दुई हजार दुई सय २२ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई रु. दस हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक सुदीप गौतमले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागलुङ नगरपालिका (निलो)ले विजयी सुरुवात गरेको छ । जलजला गाउँपालिका पर्वतलाई ५–० ले पराजित गर्दै बागलुङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार तीन खेल हुने छन् । पहिलो खेल जैमिनी नगरपालिका र बेनी नगरपालिका म्याग्दी, दोस्रो खेल गलकोट नगरपालिका र गण्डकी प्रदेश प्रहरी पोखरा तथा तेस्रो खेल कालीजङ्ग गण घोडाबाधे र पैयुँ गाउँपालिका पर्वतबीच हुने जनाइएको छ ।