बागलुङ, १३ मङ्सिर
बागलुङ नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि ‘मेयर कप’ खुला पुरुष फुटबल प्रतियोगिता सुरु हुँदैछ । बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको खेल संयोजक सुदीप गौतमले जानकारी दिए। प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी र नेपाली सेनासहित दस टोलीले सहभागी जनाउने उनले बताए ।
प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टोलीले सहभागिता जनाउने छन् । खेलमा उदयपुरको कटारी नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, बागलुङको जैमिनी, गलकोट, पर्वतको जलजला र पैँयु गाउँपालिकासहित विभागीय टोली नेपाली सेनाको कालिजंग गण घोडाबाँधे र गण्डकी प्रदेश प्रहरीले सहभागिता जनाउने छन् ।
बिहीबार नगर प्रमुख बसन्तकुमार श्रेष्ठले ‘मेयर कप’को ट्रफी सार्वजनिक गरेका थिए । प्रतियोगिताको विजेता टिमलाई मेडल र ट्रफीसहित रु। तीन लाख ३३ हजार तीन सय ३३, उपविजेतालाई रु. दुई लाख दुई हजार दुई सय २२ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई रु. दस हजारका दरले पुरस्कार प्रदान गरिने संयोजक गौतमले जानकारी दिए ।
प्रतियोगिताका लागि नगरपालिकाले रु. २० लाख बजेट विनियोजन गरेको नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेलले बताए ।