• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङ–१ मा ३९ जनाको उम्मेदवारी

बागलुङ, १० मङ्सिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न प्रतिनिधि सभा अन्तर्गत बागलुङ–१ मा ३९ जनाले उम्मेदवारी दिएका छन् । छ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले मनोनयन दिएको एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

खुलातर्फ तीन जना प्रतिनिधिका लागि २२ जनाले उम्मेदवारी दिएको उनले बताए । दुई जना महिला प्रतिनिधिका लागि सात जना र एक युवा प्रतिनिधिका लागि दस जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि छनोटमा सहमति नजुटे आउँदो शनिबार मतदान हुने अध्यक्ष केसीले बताए । निर्वाचन क्षेत्र नं. १ मा रहेका तीन हजार एक सय ८१ ज्ना सङ्गठित सदस्यले मतदान गर्नेछन् । बरेङ गाउँपालिकाको केन्द्र, जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको बागलुङ बजारमा मतदान केन्द्र तोकिएको उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नं. २ मा बिहीबार एमालेले बैठक डोकेको छ । उक्त क्षेत्रबाट चार जना महाधिवेशन प्रतिनिधि चुनिनेछन् । दलिततर्फ जिल्लाबाट एक जना प्रतिनिधि छनोट हुने एमालेले जनाएको छ । पदेन ९ जनासहित २० जना महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिने अध्यक्ष केसीले बताए ।