• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday
  • Unicode Converter

पोखरा–बागलुङ सडक मर्मत सुरु

पोखरा, ९ मङ्सिर

ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रदा यात्रु र सवारीचालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम सुरु गरेको हो ।

अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले बताउनुभयो । गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाई हुँदै आएकामा अब छिट्टै उक्त समस्या हट्ने उहाँको भनाइ छ । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम अगाडि बढाइएको सब–इन्जिनियर पौडेलले बताउनुभयो ।

वर्षायाम सकिए लगत्तै सडक मर्मत गर्ने योजना रहेपनि बीचमा ठूला चाडबाड परेका कारण काम केही ढिलो सुरु भएको कार्यालयले जनाएको छ । सडक धेरै ठाउँमा बिग्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेटक अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताउनुभयो । बजेटले भ्याएसम्मको काम समयमै हुने उहाँको भनाइ छ ।

कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको जनाइएको छ । ठाउँठाउँमा सडक बिग्रदा सहज र निर्वाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था अहिले छैन । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्ने गरेका छन् ।