पोखरा, ४ कात्तिक
‘जेन्जी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ । नगरी नहुने चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गरी पुनःनिर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गण्डकी प्रदेशभित्र ‘जेन्जी’ प्रदर्शनका क्रममा सरकारी भवन र सवारीसाधनमा गरी करिब रु. दुई अर्बको क्षति पुगेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनःनिर्माण गरिने बताउनुभयो । तत्काल मर्मतसम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उहाँको भनाइ छ । दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रवलीकरण गरिने र पुनःनिर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने भएको हो ।
“कतिपय भवनलगायत ठूला संरचना पुरै भत्काएर नयाँ बनाउनुपर्ने छ, तिनको पुनःनिर्माणका लागि आगामी वर्षको बजेटबाट स्रोतको थप व्यवस्था हुन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्याङ्कन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनःनिर्माणका लागि ठेक्का प्रकृयासमेत अगाडि बढीसकेको छ ।” एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनःनिर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको उहाँको भनाइ छ ।
दीर्घकालीन रुपमा गर्नुपर्ने पुनःनिर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ‘जेन्जी’ प्रदर्शनका क्रममा कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको थियो ।
कार्यालयका अनुसार प्रदेशभित्र तीन सय ६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीनवटा हराएका थिए । यस्तै एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको जनाइएको छ ।