पोखरा, २ मंसिर
जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ४० जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
किटानी जाहेरी र उजुरीका आधारमा हालसम्म उक्त संख्यामा प्रदर्शनकारी पक्राउ परेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
“सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा आगजनी र लुटपाट गर्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने काम भइरहेको छ”, उनले भने, “पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ ।”
प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु। पाँच अर्ब बराबरको क्षति पुगेको जनाइएको छ ।
