• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

प्रयोगशाला निर्माणमा बागलुङ समाज जापानको १३ लाख ५० हजार सहयोग

बागलुङ, १ मंसिर

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले रू. १३ लाख ५० हजार सहयोग गरेको छ । सोमबार रक्तसंचार सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्यलाई रकम हस्तान्तरण गरे ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अस्पताललाई चुस्त राख्नको लागि पनि रक्तसञ्चारको सेवा महत्वपुर्ण हुने बताए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङलगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले रक्तसञ्चार सेवा केन्द्रको काम नजिकबाट हेरिरहेको बताउँदै मानिसको जीवन बचाउने सबैभन्दा महत्वपुर्ण मानविय कार्य अरु कुनै नभएकाले आफुहरुले यसमा हातेमालो गरेको बताए उनले यस क्षेत्रका बिरामीहरु रगत अभाबकै कारण रिफर हुन नपरोस भन्ने आफ्नो चाहना भएको बताएका छन् ।

रेडक्रस सभापति आचार्यले आर्थिक अभावमा संचालनमा आउन नसकेको रातो र सेतो रगत छुट्टाउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) अब दुई महिनाभित्रै संचालनमा आउने बताए । गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको थियो ।

सुरुमा रु. २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । त्यसयता अन्य मेसिन र सामग्री खरिदमा झण्डै रु. एक करोड खर्च भइसकेपनि सेवा सञ्चालनमा आउन सकेको थिएन ।

मेसिनको जोहो करिब भइसकेपनि सेवा सञ्चालनमा ल्याउन थप बजेट र तालिमप्राप्त जनशक्तिको खाँचो रहेकाले बागलुङ समाज जापानले गरेको सहयोगले ठूलो मद्दतत पुगेको सभापति आचार्यले बताए । मेसिन राख्ने कोठा निर्माण, व्यवस्थापन, बिजुली, एसी जडानलगायतका काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

धवलागिरि क्षेत्रमै पहिलोपटक उक्त उपकरण ल्याइएपनि सञ्चालनमा नआउँदा सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज गुरुदत्त शर्माका अनुसार डेङ्गु, कोराना, क्यान्सरलगायतका बिरामीलाई सेतो रगत अत्यावश्यक पर्दा उक्त उपकरण आवश्यक पर्छ ।