• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

मानवसेवा आश्रमद्वारा आयोजित महायज्ञमा नौ कराड ७० लाख संकलन

बागलुङ, २९ कात्तिक

मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ बागलुङ नगरपालिका–४ निरयघाटमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा रु. नौ करोड ७० लाख सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि सुरु भई शनिबार सकिएको महायज्ञमा थप सहयोग आउने क्रम जारी रहको महायज्ञ मूल आयोजक समितिका सह–संयोजक राजु खड्काले जानकारी दिए ।

उनले महायज्ञ सफल भएको आर्थिक संकलनका हिसाबले लक्ष्य नजिक पुगिएको बताए । “लक्ष्यको नजिक छौँ, थप सहयोग आउने क्रम पनि जारी छ”, उनले भने । महायज्ञ सुरु भएयता दैनिक रूपमा प्राप्त दान–सहयोगले महायज्ञ आयोजनाप्रति नागरिकको उच्च विश्वास र मानवसेवा अभियानप्रतिको समर्पण झल्काएको आयोजकले जनाएको छ। महायज्ञमा संकलित रकम मानवसेवा आश्रम बागलुङ शाखाले निर्माण गर्दै आएको भवन तथा संरचना विस्तारका लागि खर्च गरिनेछ।

आश्रमले विगतदेखि नै विपन्न, अपाङ्गता भएका, असहाय तथा घरबारविहीन नागरिकलाई उद्धार तथा पारिवारिक पुनर्मिलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दाताहरूले सहयोगको हात फैलाएका हुन्। महायज्ञले मानवसेवा आश्रमको संरचनागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने मात्र नभई, क्षेत्रीय एकता, सेवा भावना र धार्मिक संस्कृतिको प्रवर्द्धनमा पनि टेवा पुगेको छ । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले सङ्गीतमय कथा प्रवचन गरेका थिए ।