• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

बागलुङमा जारी महायज्ञमा शुक्रबार एक करोड ३५ लाख संकलन

बागलुङ, २८ कात्तिक

मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ निरयघाटमा जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा शुक्रबार मात्र रु. करोड ३५ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञ सुरु भएयता दैनिक रूपमा बढ्दो दान–सहयोगले महायज्ञ आयोजनाप्रति नागरिकको उच्च विश्वास र मानवसेवा अभियानप्रतिको समर्पण झल्काएको आयोजकले जनाएको छ।

धार्मिक भावना र मानवीय सहयोगभावनाले प्रेरित भक्तजनको भीडले निरयघाट क्षेत्र शुक्रबार बिहानैदेखि नै चहकिलो बनेको थियो। कथावाचक पण्डितद्वारा प्रस्तुत आध्यात्मिक प्रवचन, वेद–पुराणका शिक्षाहरू र जीवन सम्बन्धि संदेशले वातावरणलाई थप भावनात्मक तथा प्रेरणादायी बनाएको सहभागीताबाट प्रष्ट हुन्छ ।

दैनिक रूपमा १ हजारदेखि लाखौँ रुपैयाँसम्म सहयोग आएसँगै महायज्ञ स्थल विगत सात दिनदेखि धार्मिक उत्साहले भरिएको छ। बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाबाट आएका भक्तजन तथा देश–विदेशमा रहेका नेपालीहरूबाट सञ्चारमार्फत पनि उल्लेखनीय सहयोग आइरहेको छ। कतिपय दाताहरूले आफ्ना दिवंगत परिवारजनको स्मृतिमा, कसैले सामूहिक प्रयासमा, भने कोहीले संस्थागत रूपमा सहयोग गरेका छन्।

आयोजक समितिका अनुसार महायज्ञमा संकलित रकम मानवसेवा आश्रम बागलुङ शाखाले निर्माण गर्दै आएको भवन तथा संरचना विस्तारका लागि खर्च गरिनेछ। आश्रमले विगतदेखि नै विपन्न, अपांग, असहाय तथा घरबारविहीन नागरिकलाई उद्धार तथा पारिवारिक पुनर्मिलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दाताहरूले सहयोगको हात फैलाएका हुन्।

यता, महायज्ञ अन्तिम चरणमा पुगेसँगै भोलि ९शनिबार० औपचारिक रूपमा समापन गरिने तयारी भएको छ। समापन समारोहमा विशेष पूजा, सम्मान कार्यक्रम, दानदातालाई प्रशंसापत्र वितरण गरिनेछ । समापनका दिन झनै ठूलो संख्यामा भक्तजन उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ । यस वर्षको महायज्ञले मानवसेवा आश्रमको संरचनागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने मात्र नभई, क्षेत्रीय एकता, सेवा भावना र धार्मिक संस्कृतिको प्रवर्द्धनमा पनि टेवा पुगेको छ ।