• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

मोबाइल पत्रकारिता तालिम सम्पन्न

बागलुङ, २७ कात्तिक

नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा संचालित मोबाइल पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा प्रेस रजिष्ट्रारको कार्यालयले सँधै सहयोग गर्ने बताइन् । उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा पत्रकारको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरिन् ।

डिजिटल माध्यमबाट मिथ्या र भ्रामक सूचना फैलने जोखिम पनि उत्तिकै हुने भन्दै प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारले त्यसलाई चिर्दै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा महासङ्घ, बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, रामबहादुर जिसी, वर्तमान उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्त, किरण आचार्यलगायतले मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि भण्डारीसहित अतिथिहरूले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । महासङ्घका अध्यक्ष राम थापाले महासङ्घले वर्ष २०८२ लाई तालिम वर्षका रुपमा मनाइरहेका सन्दर्भमा पत्रकारको माग र आवश्यकता अनुसार मोबाइल पत्रकारिता तालिमको आयोजना गरिएको बताए । आगामी दिनमा पनि पत्रकारको सीप र दक्षता विकासका लागि तालिमलगायतका कार्यक्रम ल्याउने उनले बताए ।

बुधबारदेखि संचालित तालिममा सेन्टर फर मिडिया रिसर्च (सिएमआर) का प्रशिक्षक विकास कार्कीले सहजीकरण गरेका थिए । तालिममा सहभागीले यस्तो खालको सिकाइले नयाँ प्रविधिसँग पत्रकारहरुलाई अपडेट हुन सहयोग पुग्ने हुदाँ तालिम एकदमै प्रभावकारी भएको बताएका थिए । तालिममा जिल्लामा क्रियाशील ३० भन्दाबढी पत्रकारको सहभागिता रहेको थियो ।