• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङका पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

बागलुङ, २६ कात्तिक

नेपाल पत्रकार महासङ्घ, बागलुङको आयोजना र प्रेस रजिष्ट्रार कार्यालय, गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको क्षमता विकास र पेसागत सुरक्षामा प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्ने बताइन् ।

उनले मोबाइल पत्रकारिता तालिमबाट मल्टिमिडिया सामग्री उत्पादन र सम्प्रेषणमा पत्रकारको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरिन् । डिजिटल माध्यमबाट मिथ्या र भ्रामक सूचना फैलने जोखिम पनि उत्तिकै हुने भन्दै प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारले त्यसलाई चिर्दै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोडि दिइन् ।

महासङ्घका अध्यक्ष राम थापाले महासङ्घले वर्ष २०८२ लाई तालिम वर्षका रुपमा मनाइरहेका सन्दर्भमा पत्रकारको माग र आवश्यकता अनुसार मोबाइल पत्रकारिता तालिमको आयोजना गरिएको बताए । दुई दिनसम्म चल्ने तालिममा रुपमा सेन्टर फर मिडिया रिसर्च (सिएमआर)का प्रशिक्षक विकास कार्कीले सहजीकरण गरिरहेका छन् । तालिममा जिल्लामा क्रियाशील ३० भन्दाबढी पत्रकारको सहभागिता रहेको छ ।