पोखरा, २६ कात्तिक
अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार पाँच सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार नौ सय ६८ र अन्य मुलुकका ९९ हजार छ सय सात पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।
सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार सात सय ६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ हजार तीन सय ५९ पर्यटक यस क्षेत्रमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकामा सन् २०२५ को दस महिनामै उक्त संख्या नाघेको हो ।
‘जेन्जी’ आन्दोलनलगायत कारणले गत सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आएपनि अक्टोबरमा भने यस वर्ष १५ सय ५७ पर्यटक बढी आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । मे र सेप्टेम्बरबाहेक अन्य महिनामा गत वर्षको तुलनामा पर्यटक बढी भित्रिएको उहाँले बताउनुभयो । नोभेम्बरपछि पर्यटक आगमन विस्तारै घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने प्रमुख डा कडरियाको भनाइ छ ।
पदयात्रा पर्यटनका लागि विश्वमाझ चिनिएको अन्नपूर्ण क्षेत्रमा सेम्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको संख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।
‘एक्याप’ले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दै गएको आयोजना प्रमुख डा रविन कडरियाले बताए । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’को तथ्याङ्क अनुसार सन् २०२३ मा एक लाख ९१ हजार छ सय ६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
सन् २०२० मा जम्मा १८ हजार आठ सय ३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको आयोजना प्रमुख डा कडरियाले बताए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ ।