पोखरा, २५ कात्तिक
गत भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा झण्डै पाँच अर्ब बराबरको भौतिक क्षति भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी भवन र सवारीसाधन गरी करिब रु. दुई अर्ब र निजी क्षेत्रतर्फ रु. तीन अर्बको क्षति पुगेको जानकारी दिए ।
कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको उनले बताए । प्रदेशभित्र तीन सय ६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीनवटा हराएको जनाइएको छ । यस्तै एक सय ६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
आन्दोलनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए । मुख्यमन्त्री पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनःनिर्माण गरिने बताए । तत्काल मर्मतसम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उनको भनाइ थियो । दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रवलीकरण गरिने र पुनःनिर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने मुख्यमन्त्री पाण्डेले बताए ।
“क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्याङ्कन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनःनिर्माणका लागि ठेक्का प्रकृयासमेत अगाडि बढीसकेको छ”, उनले भने । मुख्यमन्त्री पाण्डेले एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनःनिर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको बताए ।
नगरी नहुने चालु कार्यक्रम बाहेकका खर्च कटौती गरी पुनः निर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यन्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइएको उनको भनाइ थियो । दीर्घकालीन रुपमा गर्नुपर्ने पुनःनिर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उनले बताए ।