बागलुङ, २५ कात्तिक
जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या ५ सय ३२ पुगेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा दुई सय ९५ जनामा डेङ्गी रोग देखिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा ८९, काठेखोला गाउँपालिकामा ३७, जैमिनी नगरपालिकामा १८, ढोरपाटन नगरपालिकामा १७, बडीगाड गाउँपालिकामा १६, ताराखोला गाउँपालिकामा पाँच, निसीखोला गाउँपालिकामा चार र तमानखोला गाउँपालिकामा एक जनालाई डेङ्गी सङ्क्रमण भएको हो ।
बरेङ गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित नभेटिएको कार्यालयका निमित्त प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । दशैँ, तिहारलगायत चाडबाडका समयमा सङ्क्रमित मानिसहरु पनि विभिन्न ठाउँबाट आउनेजाने हुँदा यति बेला सङ्क्रमितको संख्या बढेको उनले बताए ।
यसका साथै पछिल्लो पटक परेको झरी र मानिसहरु घुमघाममा निस्कदा पनि धेरै मानिसहरुसँग सम्पर्क हुनाले डेङ्गी संङ्क्रमितको संख्या बढेको हुन सक्ने उनको भनाइ छ ।
डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने उनको भनाइ छ ।
डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।
सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ ।
डेङ्गीको लक्षण देखिएमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने चिकित्सक बताउँछन् । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने उनीहरूको भनाइ छ ।
सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने जनाइएको छ ।
गर्भवती र बालबालिकामा डेङ्गी भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउनुपर्ने चिकित्सक बताउँछन् । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचारपछि निको हुने गरेका छन् ।