पोखरा, २२ कात्तिक
अनलाइन ठगीका घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरी सकेपछि मात्र भुक्तानी भुक्तानी गर्न, भरपर्दो बिक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अप्यातिरो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो ।
अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाइ ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुन सक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन शेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरील्े साथीभाइ र आफन्तको नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर एकीन गरेर मात्र सहयोग गर्न भनेको हो ।
अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमुल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाए लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रुपमा वैदेशिक रोजगारीको कारण खुलाई बैङ्कमार्फत कारोबार गर्न भनिएको छ ।
सामाजिक सञ्जाल तथा बैङ्किङ एपहरुमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरुसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनैपनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरु नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।