पोखरा, २१ कात्तिक
‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण स्थगन भएको गण्डकी प्रदेशसभा बैठक यही कात्तिक २४ गते बस्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बस्ने गरी बैठक तय भएको प्रदेशसभा सचिवालयले सार्वजनिक सूचनामार्फत आज जानकारी दिएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि उक्त मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन हुन लागेको हो । यसअघि गत असोज २२ गते सोही स्थानमा बैठक आव्हान गरिएपनि प्रावधिक तयारी नपुगेका कारण अन्तिम सययमा बैठक स्थगन गरिएको थियो । बैठक बस्न नसक्दा प्रदेशसभाको कामकारबाही दुई महिनासम्म प्रभावित बन्न पुग्यो ।
पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन ।
पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।