बागलुङ, २१ कात्तिक
मानवसेवा आश्रम, बागलुङ शाखाकाको भवन निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ शुक्रबारदेखि बागलुङ नगरपालिका–४, निरयघाटमा सुरु भएको छ ।
महायज्ञको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे । उनले समाजमा मानवसेवाको भावना जगाउने यस्ता धार्मिक तथा परोपकारी कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश फैलाउने बताए। उनले मानवसेवा आश्रमले गरिरहेको कार्यको प्रशंसा गर्दै यस अभियानमा निरन्तर साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरे । मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै अध्यक्ष ढकालले कालीगण्डकी नदी तटमा आश्रम निर्माण हुनु धार्मिक हिसाबलेसमेत महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, कथा वाचन भागवत् भास्कर कमलनयन गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम सुरु हुनुअघि शोभा यात्राको आयोजना गरिएको थियो। शोभा यात्रामा विभिन्न सामाजिक संघसंस्था, महिला समूह, युवा क्लब, धार्मिक समुदाय, विद्यालय र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। बाजागाजा र झाँकीसहित निकालिएको शोभा कलश यात्रा बागलुङ बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै महायज्ञ स्थल निरयघाटमा पुगेर समापन गरिएको थियो।
महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्नेछ। महायज्ञमा योग शिविर, कथा वाचन, भजनकीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रम र समाजसेवी व्यक्तित्वहरूद्वारा सहयोग तथा सम्मान कार्यक्रमहरू सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले जानकारी दिए । महायज्ञबाट संकलित सहयोग रकम मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणमा र अक्षयकोष श्रीवृद्धिमा सदुपयोग गर्दै आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका नागरिकहरूको व्यवस्थापनमा लागि खर्च गरिने उनले बताए ।
