• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

मानवसेवा आश्रमले गर्ने महायज्ञको तयारी अन्तिम चरणमा

बागलुङ, १८ कात्तिक

मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आगामी शुक्रबारदेखि सुरु हुने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । मानवसेवा आश्रमले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बागलुङ शाखाको भवन निर्माण सम्पन्न र अक्षयकोष विस्तार गर्ने लक्ष्य राखी गर्न लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक सहदेवराज भण्डारीका अनुसार हालसम्म व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत रु. १ करोड रुपैयाँ संकलन भइसकेको छ। प्रदेश सरकार, बागलुङ नगरपालिका तथा मनकारी दाताको सहयोगमा निर्माण भइरहेको भवनका लागि रु. ५ करोड खर्च भइसकेको र अझै रु. ४ करोड आवश्यक भएकाले महायज्ञ आयोजना गर्नुपर्ने अवस्था रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा बागलुङका पूर्वमेयर जनक पौडेलले सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै प्रशंसा गरेका थिए। कार्यक्रममा आश्रमका प्रतिनिधि, अभिभावक, पत्रकार तथा विभिन्न वडाका वडाअध्यक्षहरूको उपस्थिति थियो । महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोषको श्रीवृद्धिमा खर्च गरिने बताइएको छ। हाल आश्रमको कोषमा रु. ३५ लाख रकम रहेको र रु. १० करोडको अक्षकोष स्थापना गर्ने योजना छ ।

महायज्ञमा अर्थ संकलनसँगै मानवता प्रवर्द्धनका कार्यक्रमसमेत सञ्चालन हुनेछ । कथा वाचन भागवत् भास्कर कमलनयन गौतमद्वारा हुनेछ। महायज्ञ यही कात्तिक २८ गतेसम्म बागलुङ नगरपालिका–४ निरयघाटस्थित आश्रम निर्माण स्थलमा सञ्चालन हुनेछ।