पोखरा, १८ कात्तिक
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो ।
गृह मन्त्रालयबाट प्राप्त घाइतेहरुको सूची बमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरुलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । “आइतबारसम्म आठ जनालाई घाइते परिचपयपत्र रु. २० हजारका दरले भैपरी खर्च प्रदान गरिएको छ”, उनले भने, “अन्य घाइतेहरु पनि सम्पर्कमा हुनुहुन्छ, आफ्नो आवश्यकता र अनुकूलता अनुसार उहाँहरु आउनुहोला ।”
यसबीचमा दसैँ, तिहारलगायत चाडबाडको लामो बिदा परेकाले पनि कार्यालयबाट सेवा लिन आउनेको संख्या कम भएको प्रशासकीय अधिकृत रेग्मीले बताए । परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्च बापत रु. २० हजार दरले रकम उपलब्ध गराइएको उनको भनाइ छ ।
भैपरी खर्चका लागि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्ज सम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेको नाममा रहेको बैङ्क खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुनपर्ने उहाँले बताउनुभयो । कार्यालयले घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरेको छ ।
