बागलुङ, १६ कात्तिक
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बयलडाँडादेखि वडा नं। ५ को घोडाबाँधेसम्मको सडक निर्माण अलपत्र परेपछि स्थानीयवासी रुष्ट बनेका छन् । दुवै वडाका जनप्रतिनिधिसहित स्थानीयवासीको टोलीले उक्त सडक खण्डको काममा निर्माण कम्पनीबाट भएको ढिलासुस्तीबारे आइतबार जिल्ला प्रशासन कार्यालय, बागलुङमा ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङलाई ध्यानाकर्षण पत्र बुझाउँदै सयम सीमा तोकेर सडक निर्माणलाई गति नदिए आगामी मङ्सिर १ गतेदेखि लोकमार्ग बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएका छन् । झण्डै १३ किमि दुरीको उक्त सडक निर्माण आगामी असारसम्म सक्ने गरी ‘रिजाल तामाङ भगवती जेवी’ले विसं २०८१ असारमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म १५ प्रतिशत पनि भौतिक प्रगति नदेखिएपछि सडक निर्माणमा दबाब दिन आन्दोलित हुनुपरेको स्थानीयवासी भरत सापकोटाले बताए ।
ध्यानाकर्षण पत्रमा यही कात्तिक मसान्तसम्ममा सडकका सबै खाल्डाखुल्डी पुरी सब बेस राख्नुपर्ने माग गरिएको छ । आगामी असार मसान्तभित्रमा सडकको काम सक्ने गरी निर्माण कम्पनीले समय तालिका ल्याउनुपर्ने र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन समिति गठन गरी कामको अनुगमन र प्रगति समीक्षा गर्नुपर्ने जनाइएको छ । उक्त क्षेत्रका बासिन्दा धूलोको सास्तीबाट घरमा बस्नसमेत नसक्ने अवस्था रहेकाले सडकमा दैनिक पानी छर्ने व्यवस्था गर्न माग गरिएको छ ।
माग पूरा नभएमा आगामी मङ्सिर १ गतेदेखि लोकमार्गको बिहुँ खण्ड बन्द गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा जिल्ला प्रशासन कार्यालय र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरूङले लोकमार्ग आयोजना कार्यालय, निर्माण कम्पनी र अन्य सरोकार भएका पक्षहरुबीचको बैठक राखेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
ट्रयाक खुलेको दुई दशकबढी भइसक्दा पनि उक्त सडक खण्ड अझै कालोपत्र हुन सकेको छैन । विसं २०७२ माघमा तीन वर्षभित्रमा निर्माण सक्ने गरीे एमपी–एससीएफ–ई सिसी जेभीले ठेक्का पाएकामा वर्षौँसम्म काम नभएपछि गत वर्ष सम्झौता तोडिएको थियो ।
नयाँ ठेक्का भएको पनि डेढ वर्ष हुन लाग्दा सडक निर्माणले गति लिन नसकेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । सडक निर्माणमा भएको लापरबाहीप्रति यसअघि पनि पठकपटक स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणमा भएको चरम ढिलासुस्तीले सरकारलाई नै गिज्याइरहेको छ । समयमा कालोपत्र नहुँदा वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिम मोलेर सवारीसाधन आउजाउ गरिरहेका छन् । सर्वसाधारण कठिनाईपूर्ण यात्रा गर्न बाध्य छन् ।
बागलुङ बजारदेखि अक्षेतेसम्मको केही किमि दुरीमा गरिएको कालोपत्र पनि जीर्ण भइसकेको छ । निर्माण कम्पनीको चरम लापरबाही र सरकारको अकर्मण्यताका कारण राष्ट्रिय गौरवको सडक आयोजना बदनामित बनेको छ ।
