• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

आरजु विष्टलाई ‘गीतकार सम्मान’

पोखरा, १५ कात्तिक

गीतकार प्रतिष्ठान, नेपालले ‘गीतकार सम्मान–२०८२’ गीतकार आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गरेको छ । शनिवार पोखरामा आयोजित प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा उक्त सम्मान अर्पण गरिएको हो ।

रु. पाँच हजार पाँच सय ५५ सहित दोसल्ला र सम्मानपत्र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, कवि तथा गीतकार रमेश श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियालगायतले विष्टलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सरुभक्तले गीतको जननी गीतकारलाई बिर्सेर कुनै गायक/गायिकाले आफूलाई मात्र सर्वेसर्वा ठान्न नहुने धारणा राखे । गीतकारले पनि मलाई कसैले सम्झेन भनेर कुण्ठा बोकिराख्नु नपर्ने बताउँदै गीतकार आमा भएकाले आमालाई कसैले सम्झे पनि नसम्झे पनि आमा आमा नै हुने सरुभक्तको विचार थियो ।

आरजु जस्तो एक प्रतिभाशाली गीतकारलाई सम्मान गर्नु संस्था नै सम्मानित हुनु भएको बताउँदै उनले गीति साहित्यको ऐतिहासिक अभिलेख प्रकाशन गर्न प्रतिष्ठानलाई सुझाव दिए । सम्मानित गीतकार विष्टले आफू गायक हुने धुनमा लागिरहँदा त्यसमा आएको अवरोधले गीतकारका रूपमा केन्द्रित हुने मौका पाएको बताए ।

सम्मानले चर्चामा आउन नचाहने आफूलाई गीति क्षेत्रमा थप काम गर्ने जोस भरेको अनुभव सुनाए । सञ्चारकर्मीसमेत रहेका विष्टका जित मात्रै कहाँ हो र …, झ्याम्म झ्याम्म…, ठोकिँदा ठोकाइमा…लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् । उनको ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बमसमेत बजार आएका छन् ।

कार्यक्रममा गीतकार तथा विम्बकवि रमेश श्रेष्ठ, पूर्व सम्मानित गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसबमोजिम विष्टलाई सो सम्मान गरिएको हो । गीत लेखनका क्षेत्रमा योगदान पु¥याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।