बागलुङ, १५ कात्तिक
देउरालीचोक आमा समूह, बागलुङले गत तिहारमा देउसीभैलो खेलेर उठेको रकम मानवसेवा आश्रमलाई प्रदान गरेको छ । समूहले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणार्थ रु. एक लाख पाँच सय ५५ सहयोग गरेको हो ।
शनिबार आश्रममा आयोजित एक कार्यक्रमबीच समूहकी अध्यक्ष सरीता थापामगरसहित समूहका पदाधिकारी र सदस्यले संयुक्त रुपमा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बासकोटा र संयोजक विपना तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।
“देउसी भैलो कार्यक्रमबाट केही रकम संलकन गरेका थियौं, त्यसबाट विभिन्न ठाउँमा सहयोग गर्ने क्रममा यो आश्रमका लागि रु. एक लाख पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छौं”, उनले भनिन्, “यो सानो सहयोगले आश्रमको निर्माण र सञ्चालनमा केही भए पनि टेवा पुगोस् भन्ने हाम्रो उद्देश्य छ ।”
सो अवसरमा मानवसेवा आश्रम बागलुङकी अभिभावक लक्ष्मी बास्कोटाले सबैको सहयोगबाट आश्रमको भवन निर्माण अगाढि बढाइएको र महायज्ञमार्फत त्यसलाई पूरा गर्न लागिएको बताइन् ।
“सबै भन्दा ठूलो धर्म मानवसेवा हो, हामी मानव स्मारक बनाउँदैछौं, मानवसेवा आश्रमको भवन नै मानवस्मारक हो”, उनले भनिन्, “धेरै जनाको धेरै थोरै सहयोगबाट यो निर्माण अगाडि बढेको छ । यसरी नै सबैको सहयोगले हामी त्यसलाई पूरा गर्ने चरणमा जाँदैछौं ।” यही कात्तिक २१ गतदेखि २८ गतेसम्म मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि बागलुङ नगरपालिका–४ निरयघाटमा महायज्ञको आयोजना गरिएको छ ।
नयाँ भवन निर्माण भएपछि दुई सय भन्दा बढीलाई आश्रय दिन सकिने जनाइएको छ । अहिले सबै उमेर समुहका गरी ६६ जना मानवसेवा आश्रममा आश्रित रहेको आश्रमका संयोजक तामाङले जानकारी दिइन् । विभिन्न ठाउँबाट बागलुङ बजारमा झरेर देउराली चोक र आसपासमा बसोबास गर्ने मगर महिलाहरुको उक्त समूहले समुदायको हितमा काम गर्दै आएको छ ।
समुदायका सदस्यलाई पर्ने गाह्रोसाह्रो र उत्सव तथा शुभकार्यमा पनि समूहले सहयोग गर्ने गरेको समूहकी अध्यक्ष सरीता थापाले बताइन् । समूहले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरुमा सामूहिक रुपमा सहभागिता जनाउँदै आएको छ ।