• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

महायज्ञ सुरु हुनुपूर्व नै मानवसेवा आश्रमलाई सहयोग जुट्ने क्रम जारी

बागलुङ, १२ कात्तिक

मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरिरहेका छन् ।

हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु. ५० हजार ५ सय ९८ सहयोग गरेका छन् । सोही क्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

साथै नगर प्रमुख श्रेष्ठले सबै भक्तजनलाई फराकिलो मन बनाएर महायज्ञमा सहभागी भई दान गर्नहुन अनुरोधसमेत गरेका छन् । त्यसैगरी नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य कार्यपालिका सदस्यहरूले आफ्नो १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन्।

नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि रु. १ लाख १ सय ११ सहयोग गर्ने गरेका छन् । त्यस्तै, गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् । हाल बागलुङ नगरपालिका–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा हाल ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित रहेका छन्।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित यही कात्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो। महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन्।

महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ । महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको छ। सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका काम अघि बढाइएको छ।

आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ। “सचिवालयबाट प्रचारप्रसार र जनसम्पर्क अभियान सशक्त बनाइनेछ”, उनले भने ।

दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ। हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ। महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ।