• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

बागलुङ, ११ कात्तिक

यही कात्तिक १७ गतेदेखि ३० गतेसम्म जिल्लाको गलकोट नगरपालिका–५ बसाहफाँटमा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला भलिबल सङ्घ, बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा चार विधामा भलिबल प्रतियोगिता हुन लागेको हो ।

खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ टिम सहभागी हुने निश्चित भइसकेको उनले बताए ।

भेट्रान्स कपका लागि १६ टिम, खुला वडास्तरीय पुरुष भलिबलमा १२ टिम, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ टिम र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात टिम सहभागी हुने जनाएको छ । खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका टिमले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाको भनाइ छ ।

प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेता टिमले ट्रफी र मेडलसहित रु. दुई लाख एक हजार एक सय ११, उपविजेताले रु. एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले रु. ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछ । भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रु. एक लाख, उपविजेताले रु. ६० हजार र तेस्रो स्थान हासिल गर्नेले रु. ३५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेता हुने टिमले ट्रफी र मेडसहित रु. ५१ हजार एक सय ११, उपविजेताले रु. ३० हजार एक सय ११ र तृतिय हुने टिमले रु. १५ हजार एक सय ११ प्राप्त गर्नेछ . माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित रु. ३५ हजार, उविजेतालाई रु. २० हजार र तृतिय हुने टिमलाई रु. १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमा समूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता सञ्चालन हुनेछ ।

सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय पुरस्कार क्रमशः रु. २५ हजार, रु. १५ हजार र रु. सात हजार राखिएको छ । एकल नृत्यतर्फ रु. १५ हजार, रु. दस हजार र रु. सात हजार पुरस्कार रहेको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रु. ३५ हजार र दोस्रो हुनेलाई रु. २० हजार प्रदान गरिनेछ । पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई रु. दस हजार, दोस्रो हुनेलाई रु. पाँच हजार र तेस्रो हुनेलाई रु. दुई हजार पाँच सय पुरस्कारको व्यवस्था गरिएको छ ।

स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रु. १० हजार पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने अध्यक्ष थापाले बताए ।