पोखरा, ९ कात्तिक
गत असोजमा ३० हजार पाँच सय ४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार पाँच सय २८ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
गत वर्ष असोजको तुलनामा यस वर्ष एक सय ८५ पर्यटक कम आएको आयोजना प्रमुख डा रविन कडरियाले बताए । गत भदौमा भएको ‘जेनजी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटकको संख्या घटेको उनको भनाइ छ ।
आव २०८०/०८१ को असोजमा २८ हजार सात सय पाँच पर्यटक यस क्षेत्रमा भित्रिएकामा गत आवको असोजमा ३० हजार सात सय ३२ पर्यटक आएका थिए । असोज र कात्तिक महिनालाई मुख्य पर्यटकीय मानिन्छ । कात्तिकमा अन्नपूर्ण क्षेत्रमा पर्यटक थप बढ्ने आयोजना प्रमुख कडरियाले बताए ।
तिहार लगत्तै मुस्ताङलगायत क्षेत्रमा आन्तरिक पर्यटकको पनि चहलपहल बढेको उनकोे भनाइ छ । यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्छन् । गत वर्ष कात्तिकमा ३३ हजार तीन सय १० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेको आयोजना प्रमुख डा कडरियाले बताए । मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यस याममा आन्तरिक पर्यटकको संख्या पनि बढ्ने गरेको उनकोे भनाइ छ ।
यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको आयोजना प्रमुख डा कडरियाले बताए ।
वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या न्यून हुने गरेपनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरेपनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ ।
