• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

सेतीको ‘सिग्नेचर’ पुल निर्माणमा ढिलाइ

पोखरा, ८ कात्तिक

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको हो ।

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।”

तीन वर्षको सम्झौता अवधि भएपनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको उनले बताए । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिएपनि अपेक्षित प्रगति हुन नसकेको प्रमुख कुँवरको भनाइ छ ।

विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केबल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको उनले बताए । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भइसकेको छ । चारवटा टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिए ।

आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागेपनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरि आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्नेछन् ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताए ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग भएको उनको भनाइ छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् ।

५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन् । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेको र दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । पोखराको विजयपुर खोला र सेती नदीको पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताए ।